स्वदेशको समृद्धिमा एनआरएन

  • कुमार पन्त

आश्विन २२, २०७४- गैरआवासीय नेपाली अभियानले औपचारिक रुप लिई गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको १४ वर्ष पुग्दै छ । आठौं गैरआवासीय नेपाली विश्व सम्मेलन काठमाडौंमा हुँदै छ । ‘नेपालीका लागि नेपाली’ नाराका साथ सन् २००३ मा स्थापित संघले १४ वर्षमा धेरै रचनात्मक र गौरव गर्नलायक काम गर्न सकेको छ । तैपनि, केही हदसम्म अपेक्षाअनुरुप काम गर्न नसकेको भनेर गरिने आलोचनालाई समेत हामी नजरअन्दाज गर्न सक्दैनौं ।

विश्वका ७७ देशमा राष्ट्रिय समन्वय परिषद् गठन गरी नेपालीहरुको सर्वाधिक ठूलो सांगठनिक सञ्जाल निर्माण आफैमा महत्वपूर्ण उपलब्धि हो । स्वदेश र विदेशमा उत्तिकै परिचित यस संघलाई देशको विकास र समृद्धिको महत्वपूर्ण साझेदारको रूपमा हेर्न थालिएको छ । पछिल्ला दशकमा नेपाली डायास्पोराको आकार र आयाममा व्यापक वृद्धि र विविधता देखिएको छ । स्वदेशबाट विदेशिएको र विदेशमै जन्मेहुर्केको दुईथरी पुस्ता निर्माण भएका छन् । संघ पनि क्रमश: पहिलो पुस्ताबाट दोस्रो पुस्तामा प्रवेश गर्दैछ । पहिलो पुस्ताका अग्रजहरुबाट संगठनको परिकल्पना भयो र अभियानलाई सांगठनिक आकारमा ढालियो । अब डायास्पोरा र मातृभूमिसँगको सम्बन्ध प्रगाढ बनाउँदै मुलुकको आर्थिक–सामाजिक रूपान्तरणमा थप सक्रियतासाथ सामूहिक योगदान दिनुपर्ने ऐतिहासिक जिम्मेवारी दोस्रो पुस्तामाथि आएको छ ।

गैरआवासीय नेपाली अभियानको मुख्य लक्ष्य नेपालको समृद्धि नै हो । त्यसो त हामी एनआरएनहरुका आफ्नै मुद्दा पनि नभएका होइनन् । नागरिकतादेखि श्रमिक हक, आत्मसम्मानपूर्ण वैदेशिक रोजगारी लगायतका अन्य मुद्दा हुँदाहुँदै पनि मुख्य रुपमा नेपालको विकासमा एनआरएनले योगदान गर्नुपर्छ भन्ने हो र हुनुपर्छ ।

लगानीमा योगदान

नेपालको समृद्धिमा एनआरएनको योगदानका सन्दर्भमा मुख्यत: लगानीकै विषय अगाडि आउँछ । नेपालमा एनआरएनले गर्न सक्ने भनेको प्रमुख योगदान पनि लगानी नै हो । लगानीको कुरा गर्न थालेको पनि धेरै वर्ष भयो । कतिपय अवस्थामा एनआरएनले गफ मात्र गर्छन् भन्नेसम्मका टिप्पणी समेत नसुनिएका होइनन् । नेपालकै अपेक्षामा हामीले गर्न नसके पनि नगरी बसेका पनि छैनौं ।

भावनात्मक रुपमै सही, एनआरएन समुदायमा नेपालमा लगानी गर्न भित्रैदेखि उत्साह देखिन्छ । जस्तो कि हामीले संस्थागत रुपमै पहल थालेर सामूहिक लगानी गरेको दोर्दी खोलाको २७ मेगावाट जलविद्युत आयोजनालाई उदाहरणका रुपमा लिउँ । धेरै लगानी उठ्ला नउठ्ला, सांकेतिक रुपमा भए पनि सुरु गरौं, नपुगेको रकम आफै जुटाउँला भनेर सुरु गरेको त्यस परियोजनामा हामीलाई आवश्यकभन्दा बढी रकम एनआरएनबाटै उठ्यो । लगानीको प्रस्ताव तयार पार्नेबित्तिकै साथीहरु म पनि, म पनि भन्दै ९ सय जना आबद्ध भए । सुरुमा दुईचार सय जना जति जुटाउन सकिएला भन्ने लागेको थियो तर पछि त यस्तो स्थिति आयो कि कतिपय साथीहरुलाई अहिलेलाई पुग्यो, समय सकियो भनेर फर्काउनु पर्‍यो । यसले के देखाउँछ भने एनआरएनहरु नेपालमा लगानी गर्न एकदमै इच्छुक छन् । अनि सामूहिक लगानीको अवधारणा सफल, उपयोगी र व्यावहारिक पनि देखिएको छ ।

यसको अर्थ व्यक्तिगत तवरमा गरिएको लगानी कम उपलब्धिमूलक भन्न खोजिएको होइन । तर, व्यक्तिगत तवरमा हुने लगानीको तुलनामा सामूहिक लगानीको अवधारणाले हामीले खोजेको लक्ष्य भेट्न सहज छ भन्न खोजिएको हो । लगानीको मात्रा र एउटा परियोजनामा धेरै गैरआवासीय नेपालीको सहभागिताले केही ठूला र मझौला आकारका परियोजना सम्भव छन् भन्ने कुरा व्यवहारबाटै देखिएको छ ।

नेपालमा लगानीको चर्चा गर्दा उल्लेख गर्नैपर्ने पक्ष के छ भने विदेशका महंगा सहरमा उम्दा व्यवसाय गरेर बसेका र केही हदसम्म लगानी गर्ने सामर्थ्य पनि भएका धेरै नेपाली छन् । विस्तारै यस प्रकृतिको समुदाय विस्तारित हुँदो छ । उनीहरु विदेशमा व्यवसाय विस्तार गर्न आत्मविश्वासका साथ तयार हुन्छन् । विदेशमा कसरी लगानी गर्ने, कति लगानी गर्दा के कति प्रतिफल आउँछ र कसरी पैसा जोगाउने भन्ने उनीहरुलाई थाहा छ । तर, स्वदेशमा लगानी गर्न उनीहरुमा पर्याप्त आत्मविश्वास देखिंदैन । यसका समाधान पनि सामूहिक लगानी हुन सक्छ । सामूहिक लगानीमा गयौं र त्यसले प्रतिफल दिन सक्यो भने अरुलाई पनि आकर्षित गर्नेछ, आत्मविश्वास बढाउँदै नेपालतिर कारोबार सोझिनेछ । त्यसले विदेशिएको नेपाली समुदाय र नेपालको समृद्धिको अभियानलाई थप बलियोसँग जोड्नेछ ।

सामूहिक लगानीको अवधारणाअनुरुप नै एनआरएन बैंकको अवधारणा अगाडि ल्याइएको छ । त्यहाँ केही अर्बको लगानी अवश्य हुनेछ र त्यसले केही हजारमा रोजगारी सिर्जना तथा वित्तीय गतिविधि बढाउनेछ । त्यसैगरी केही साथीहरु व्यक्तिगत रुपमै बैंक खोल्ने हैसियत राख्छन्, केही मेगावाट जलविद्युत उत्पादन कम्पनी सञ्चालन गर्ने हैसियत राख्छन् । तिनलाई आकर्षित गर्न सक्नुपर्नेछ । अझ तिनलाई नेपालमुखी भई व्यावसायिक गतिविधि विस्तार गर्न प्रेरकको भूमिका खेल्नुपर्नेछ । यस खालको लगानीले नेपालको समृद्धिमा तात्विक फरक पार्न सक्छ । तर, त्यसले मात्र ठूलो समस्या समाधान भने गर्दैन । यसका निम्ति लगानीको परिभाषा नै फेर्नुपर्नेछ । लगानी भन्नाले आर्थिक मात्र होइन, बौद्धिक लगानी पनि हो । सीप र प्रविधिको लगानी पनि हो । आर्थिक लगानीसँगै अब हाम्रो ध्यान यतातिर पनि केन्द्रित गर्नुपर्नेछ ।

नेपालको सहरी क्षेत्रमा तरकारीदेखि प्राय: खाद्यवस्तु भारतबाट आयात भएको छ । एनआरएनहरुले व्यावसायिक कृषि गरी त्यस क्षेत्रमा लगानी केन्द्रित गर्न सक्छन् । फेरि धेरै एनआरएनको विशेषज्ञता पनि यस क्षेत्रमा छ । नेपालमा दुई तीनवटा गाई पाल्ने नेपालीका छोराछोरीले न्युजिल्यान्डमा गएर एउटा फार्ममा ८ सयवटा गाई पालेका छन्, त्यो पनि जम्मा चार जनाले । नेपालमा दुई चार गह्रामा खेती गरेर हामी किसानका सन्तति दाबी गर्छौं । विदेशमा २०–२५ हेक्टर खेत किनेर किवी खेती गरेका नेपाली यो पंक्तिकारले देखेको छ । तिनै नेपालीले विदेशमा गर्न सकेका काम नेपालमा गर्न नसक्ने कुरै छैन । तसर्थ नेपालीले बाहिर हासिल गरेको विशेषज्ञता नेपाल भित्र्याई नेपालको समृद्धिका निम्ति उपयोग गर्न सक्नुपर्नेछ । विदेशमा हासिल गरेको अनुभव, सीप, ज्ञान र प्रविधि भित्र्याउने र यसैमा जोड गरेर जाँदा नेपालको स्वाधीन अर्थतन्त्र बन्दै जानेछ ।

कृषिकै कुरा गर्दा नेपालमा जग्गा प्लटिङ ठूलो समस्या भएको छ र अन्य नाममा भएको खण्डीकरणले पनि व्यावसायिक खेती विस्तार हुन बाधा उत्पन्न गरेको छ । हेक्टरका हेक्टर क्षेत्रफलमा किवी वा यस्तै व्यावसायिक खेती गर्नका निम्ति जग्गा उपलब्ध हुन गाह्रो हुँदा नीतिगत रुपमा त्यसलाई कसरी सम्भव तुल्याउने भन्ने प्रसंगमा सरकारको सहयोगी भूमिका र सहकारिताको भावना अपेक्षित हुन्छ । यी र यस्ता बहुक्षेत्रमा नीतिगत रुपमा सुधार हुनुपर्ने कुराहरु धेरै छन् । तिनको एकीकृत समाधान खोज्यौं भने त्यो बढी सहुलियतपूर्ण र सुल्टो काम हुन जान्छ । धेरै गैरआवासीय नेपालीहरु विदेशमा सरकारकै नीति निर्माण तहमा पनि विशेषज्ञका हैसियतले काम गरेका छन् । त्यो अनुभव र दक्षतालाई समेत स्वदेशको हितमा लगाउन सकिन्छ । यसमा सरकारसँगको समन्वयमा हामी काम गर्न चाहन्छौं ।

वैदेशिक रोजगारी

नेपाल अहिले अन्तर्राष्ट्रिय श्रमबजारमा सबैभन्दा सस्तो कामदार आपूर्ति गर्ने मुलुकका रुपमा परिचित छ । यो चिनारीलाई हामीले तत्काल मेटाउनुपर्छ । नेपालकै बेरोजगारी र बाहिर जाने जनशक्ति पनि सस्तो ज्यालामा काम गर्नुपर्ने प्रमुख कारण सीप विहीनता हो । स्वदेशमै सीपयुक्त जनशक्ति तयार गर्न सक्यौं भने मुलुकभित्र र बाहिर जहाँ गएपनि राम्रो आयआर्जन गर्न सक्छन् र मुलुकको समृद्धिमा योगदान गर्न सक्छन् ।

विदेश जाने नेपालीले ६ महिनाको मात्रै तालिम दिई काम सिकेर जाने हो भने उसको आयमा धेरै फरक पर्छ । कामै नजानेको मान्छेलाई राम्रो तलब कसैले दिंदैन, यो श्रम बजारको सार्वभौम नियम हो । सीपविहीन अवस्थामा बाहिर गए पनि ६ महिना तालिम नै गर्ने हो । काम सिकेर जाने हो भने दोब्बरभन्दा बढी तलब फरक पर्छ । त्यस्ता तालिम दिने शिक्षालयहरु नेपालमा सीमित छन् । भएकाहरुले पनि बजारको मागअनुरुप जनशक्ति तयार गर्न नसकेको अनुभव हुन्छ ।

यस खालको जनशक्ति उत्पादनका निम्ति एनआरएनले भूमिका खेल्न सक्छन् । ठाउँठाउँमा यस्ता व्यावसायिक एवं सीपमूलक तालिम दिने शिक्षालय सञ्चालन गर्न सकेमा सस्तो श्रमिकको नेपाली चिनारी हराउनेछ । यसले वैदेशिक रोजगारीलाई बढी मर्यादापूर्ण, सुरक्षित र लाभप्रद बनाउनेछ । प्रकारान्तरले यसबाट पनि स्वदेशको समृद्धिमै योगदान पुग्नेछ । बेरोजगारी घटाउने प्रमुख उपकरण पनि व्यावसायिक एवं सीपमूलक जनशक्ति उत्पादन नै हो । यसनिम्ति हामी सरकारसँग सहकार्य गर्न तयार छौं ।

भलाइका कार्य

हुन त गैरआवासीय नेपाली संघ आफैमा सामाजिक संस्था हो । विदेशमा रहेका नेपालीलाई एकताबद्ध राख्ने, एकअर्काका समस्या मिलेर समाधान गर्ने र स्वदेशमा भैपरी आउने संकटका बखत सकेको योगदान गर्ने यसको मूलभूत उद्देश्य हो । अर्थात्, कुनै पनि सामाजिक संस्थाको मूल उद्देश्य आफ्नो लक्षित समुदायको भलाइ नै हो ।

हामीले संघमार्फत र अन्य माध्यमबाट विभिन्न प्रकारका भलाइका कार्य गरेका छौं । वास्तवमा पछिल्ला वर्षहरुमा नेपालमा एनआरएनहरुलाई चिनाएको भनेकै संकटमा गरेको सहयोगले हो भन्दा अत्युक्ति हुने छैन । ०७२ को विनाशकारी भूकम्पलगत्तै राहत र पुन:निर्माणका काममा होस् या नाकाबन्दीका कारण मुलुकमा उत्पन्न मानवीय संकट कम गर्न अत्यावश्यक औषधि आपूर्ति गरेर होस् । बाढीपहिरोका कारण बिचल्लीमा परेका नेपालीलाई राहत बोकेर आउँदाको क्षण होस् वा संसारको कुनै पनि भूभागमा नेपालीलाई परेको आपतमा संघले गरेको योगदान होस्, यी हाम्रो अभियानका अभिन्न पाटा हुन् । आगामी दिनमा पनि जारी रहनेछन् । तर, मुलुकको समृद्धिको कोणबाट हेर्दा यी कल्याणकारी कार्य विशुद्ध भावनात्मक र तत्कालीन राहतको लागि मात्र हुन्छन् । यी कामले मात्र नेपाली जनताले दीर्घकालीन रुपमा सुख पाउलान्, मुलुकले खोजेको आर्थिक समृद्धि हासिल गर्ला भन्न सकिंदैन । तसर्थ, हाम्रो मुख्य जोडबल चाहिं लगानीबाटै आर्थिक समृद्धिको साझेदार बन्ने—बनाउने हुनुपर्छ ।

कल्याणकारी कार्यकै कुरा गर्दा धेरै गैरआवासीय नेपालीले विदेशमा बसेर ठूल्ठूलो रकम योगदान गर्न सक्ने भएका छन् । तर, त्यसवापत उनीहरुले आफ्नो आम्दानीमा लाग्ने कर मिनाहा पाएका छैनन् । एनआरएनएभित्रै एउटा च्यारिटी फाउन्डेसन बनाएर मान्यता प्राप्त हुन सकेमा त्यो सहुलीयतको प्रयोग अझ उत्साहप्रद हुन सक्छ । हामीले त्यस्तो फाउन्डेसन बनाउने कोशिस गरिरहेका छौं । यो सफल भएमा नेपालको आर्थिक—सामाजिक विकासका कार्यमा हाम्रो योगदान अझ गणनायोग्य हुनेछ ।

नेपालमा लगानी गरी आर्थिक समृद्धिको साझेदार बन्ने कोणबाट हुने छलफलमा एनआरएनहरुले प्राय: उठाउने चासोहरु हुन्, नेपालमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, सरकार फेरबदलसँगै हुने नीतिगत अस्थिरता आदि । यी कुनै नयाँ समस्या नै होइनन् । यो भन्दै आएको पनि दशकौं भइसक्यो । बारम्बार उही समस्यालाई औंल्याउनुपर्दा हामीलाई अप्ठेरो पनि महसूस हुन्छ । तैपनि, एनआरएनप्रति विश्वास गरेर नै नेपालले आर्थिक—सांस्कृतिक अधिकारसहितको नागरिकता दिएको छ । प्रत्यक्ष वैदेशिक लगानी ल्याउने कानुनी आधार दिएको छ । गैरआवासीय नेपाली ऐन र नियमावलीमार्फत् पनि हामीप्रति विशेष व्यवहार राज्यका तर्फबाट गरिएको छ । मुलुकी ऐनलाई विस्थापित गर्ने मुलुकी देवानी संहिताले पनि एनआरएनले झेलेका कतिपय सम्पत्ति—व्यवहारसम्बन्धी तगारा फुकाएको छ । नेपाल भूमि, नेपाली समाज र नेपालको भाषा, संस्कृतिसँग अटुट नाता भएको एनआरएन समुदायले नेपालमा लगानी गर्ने आधार पनि यिनै हुन् । तसर्थ, राज्यले हामीप्रति गरेको विश्वास र भरोसावापत हामी पनि केही जोखिम लिएरै भए पनि आर्थिक समृद्धितिर उन्मुख हुन खोजेको मुलुकको यात्राका साथी बनौं । आसन्न गैरआवासीय नेपालीको आठौं विश्व सम्मेलनबाट अपेक्षित दिग्दर्शन पनि यही हो ।

(लेखक पन्त गैरआवासीय नेपाली संघका उपाध्यक्ष हुन् ।)

 

साभार:कान्तिपुर – www.ekantipur.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *